ठोरी, माघ १९ गते ।
नेपाली काङ्ग्रेस ठोरी गाउँ कार्यसमितिका निर्वाचित सभापति तथा सामाजिक अभियन्ता सन्तोष श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुनुभएको छ ।
सोमबार रास्वपाले ठोरी गाउँपालिका–४ स्थित विजयवस्तीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले औपचारिक रूपमा पार्टी प्रवेश गर्नुभएको हो । शिक्षण पेशाबाट राजनीतिमा सक्रिय रहँदै सामाजिक सेवामा लामो समयदेखि योगदान पुर्याउँदै आएका श्रेष्ठ स्थानीय तहमा परिचित सामाजिक अभियन्ताका रूपमा चिनिँदै आउनुभएको छ ।
श्रेष्ठको पार्टी प्रवेशसँगै ठोरी क्षेत्रमा रास्वपाको संगठन थप सुदृढ बनेको पार्टीको दाबी छ। नेपाली काङ्ग्रेसको स्थानीय नेतृत्व तहकै व्यक्तिले पार्टी परित्याग गरेपछि ठोरी क्षेत्रमा काङ्ग्रेसलाई राजनीतिक रूपमा ठूलो असर परेको विश्लेषण गरिएको छ । पार्टी परिवर्तनको कारण खुलाउँदै श्रेष्ठले नेपाली काङ्ग्रेस समयअनुकूल सुधार र परिवर्तनको दिशामा अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
रास्वपा ठोरी सभापति माधव बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले, नेकपा, नेपाली काङ्ग्रेस र जसपाबाट गरी १३७ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेको जानकारी पार्टीका पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार टेकबहादुर शाक्यले दिनुभयो । पार्टी प्रवेश कार्यक्रमसँगै रास्वपाले ठोरी क्षेत्रमा संगठन विस्तारलाई तीव्र बनाउँदै चुनावी अभियानलाई अझ सक्रिय रूपमा अघि बढाउने जनाएको छ ।

