रौतहट, माघ २१ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ । निर्वाचनलाई भयमुक्त वातावरणमा गराउन नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा सतर्कता बढाएका छन् ।
यसै क्रममा बुधबार रौतहट निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका संवेदनशील तथा सामान्य मतदान केन्द्रहरूमा संयुक्त सुरक्षा टोलीले स्थलगत निरीक्षण गरेको छ। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले विभिन्न मतदान स्थलहरूको अवस्था, पहुँच मार्ग तथा सम्भावित जोखिमबारे जानकारी संकलन गरेको हो ।
अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङ, सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसीलगायत सुरक्षा निकायका प्रमुख अधिकारीहरूको सहभागिता थियो। निरीक्षणका क्रममा मतदान स्थलको भौतिक संरचना, सुरक्षा चुनौती, प्रवेश–निकास व्यवस्था तथा जोखिम सूचकहरूको सूक्ष्म मूल्याङ्कन गरिएको जनाइएको छ ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुरक्षा अधिकारीहरूले मतदान केन्द्रमा देखिएका सामान्य प्राविधिक तथा भौतिक कमजोरीहरूलाई छिट्टै सुधार गरिने बताए। “मतदाताले कुनै पनि किसिमको त्रास बिना मतदान गर्न सक्ने वातावरण बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” उपसचिव शर्माले भने, “त्यसका लागि आवश्यक सुरक्षात्मक प्रबन्ध थप कडा पारिनेछ ।”
निर्वाचन अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि, दबाब वा भयलाई नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच घनिष्ठ समन्वयका साथ काम गरिने सुरक्षा संयन्त्रले जनाएको छ। साथै जिल्लाभर मोबाइल गस्ती, रणनीतिक सुरक्षा तैनाथी र उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार निर्वाचनको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिरहेको छ। क्षेत्र नम्बर ४ मा ६१ मतदान स्थलअन्तर्गत १ सय ३४ मतदान केन्द्र तोकिएका छन्। समग्र जिल्लामा भने २ सय ७७ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र रहेका छन् ।
सबै मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरी आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रशासनको योजना छ। स्थानीय प्रशासनले आम मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन अपिल गरेको छ ।



