बागलुङ, माघ २१ गते ।
बागलुङ जिल्लामा अवैध रूपमा राखिएका ११५ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४० दिनको अवधिमा सञ्चालन गरेको अवैध हातहतियार खोजी अभियानका क्रममा उक्त परिमाणमा भरुवा बन्दुक नियन्त्रणमा लिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने तथा वन–जङ्गल क्षेत्रमा बढ्दो चोरी–सिकारी नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
बरामद गरिएका भरुवा बन्दुकमध्ये सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङ क्षेत्रबाट ६६ थान फेला परेका छन् । यस्तै, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
ढोरपाटन सिकार आरक्ष आसपासका क्षेत्र, सामुदायिक वन तथा गाउँघरमा चोरी–सिकारी बढ्नुका साथै आपसी विवाद र झै–झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम देखिएपछि इजाजतपत्रबिनै लुकाइछिपाइ राखिएका हतियार सङ्कलन गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा र बसोबास नभएका खाली घरमा लुकाएर राखिएका अवस्थामा अवैध भरुवा बन्दुक बरामद गरिएको हो । “केही समयअघिदेखि अवैध हातहतियार नियन्त्रण अभियान सञ्चालन गरिएको थियो,” प्रहरी उपरीक्षक भारतीले भन्नुभयो, “चुनावलाई लक्षित गर्दै इजाजतपत्र प्राप्त हतियारसमेत प्रहरीमा बुझाउन आग्रह गरिएको छ ।”
बरामद गरिएका अधिकांश भरुवा बन्दुक स्थानीय स्तरमै निर्माण गरिएका र प्रयोगयोग्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । कानुनअनुसार इजाजतपत्रबिनै भरुवा बन्दुक राखे वा प्रयोग गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

