काठमाडौं, माघ २२ गते ।
निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रणमा राख्ने उद्देश्यले उक्त कार्यविधि जारी गरिएको आयोगले जनाएको छ ।
राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न कार्यविधि आवश्यक भएकाले आयोगबाट मंगलबार यसलाई स्वीकृति दिइएको हो ।
कार्यविधिअनुसार सवारीसाधन प्रयोग गर्न चाहने राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही सवारीसाधन प्रयोगको अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले बढीमा दुईवटा दुई, तीन वा चार पाङ्ग्रे (विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने) हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारीसाधन सञ्चालन नहुने क्षेत्रमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
स्थानीय तह निर्वाचनका हकमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ।
वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारीसाधन नचल्ने स्थानमा गाउँपालिका वा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि दुईवटा र वडा तहका उम्मेदवारका लागि एउटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यविधिमा मौन अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको समयावधिलाई जनाइएको छ।
अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा मौन अवधिमा अनुमति प्राप्त सवारीसाधन सञ्चालन गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने व्यवस्था गरिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले नियमित अनुगमन गरी उल्लङ्घन देखिएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिनेछ ।
मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। तर, हवाई उडानमा भने यो व्यवस्था लागू हुने छैन। मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, सञ्चारमाध्यम, पर्यवेक्षक, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, विदेशी पर्यटक तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई सवारीसाधन प्रयोगको अनुमति दिन सकिने कार्यविधिमा उल्लेख छ ।
मतदानको दिन सवारीसाधन प्रयोग गर्न उम्मेदवार वा उनका प्रतिनिधिले उम्मेदवार परिचयपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ। उम्मेदवारबाहेक अन्य निकायले मतदान हुने दिनभन्दा कम्तीमा दुई दिनअघि आधिकारिक पत्रसहित अनुमति माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं जिल्लामा आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन डेस्कमार्फत अनुमति प्रक्रिया सञ्चालन गरिनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा अनुमति जारी गर्नेछ। विदेशी नम्बर प्लेटका सवारीसाधनलाई निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि प्रयोग गर्न अनुमति नदिइने स्पष्ट गरिएको छ ।
एम्बुलेन्स, दमकल, खानेपानी ट्यांकर, दूध ढुवानी सवारी, शववाहन, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन र ‘सीडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधनलाई भने अनुमति लिनु नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

