जनकपुरधाम: मधेश आन्दोलनबाट उदाएका सक्रिय युवा नेता किसन साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पुस्तागत रूपान्तरण र नयाँ राजनीतिक संस्कृतिको बहस तीव्र बन्दै गएको समयमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभावशाली युवा नेताका रूपमा परिचित साहको रास्वपामा प्रवेशले मधेश केन्द्रित राजनीतिमा नयाँ सन्देश जाने अपेक्षा गरिएको छ । सामाजिक न्याय, पहिचान र समावेशी राजनीतिक एजेन्डामा लामो समयदेखि सक्रिय रहँदै आएका साहको निर्णयलाई रास्वपाले युवामुखी र सुधारकेन्द्रित राजनीतितर्फको संकेतका रूपमा लिएको छ ।
देशमा पुराना राजनीतिक संरचनाको विकल्प खोज्ने आवाज बलियो बन्दै गएको सन्दर्भमा साहको रास्वपामा प्रवेशलाई पुस्ता परिवर्तनको अभियानसँग जोडेर हेरिएको छ । यसले धनुषा सहित समग्र मधेश क्षेत्रमा रास्वपाको संगठन विस्तार र राजनीतिक सक्रियतामा थप ऊर्जा दिने नेताहरूको विश्वास छ ।

