गाैशाला, माघ २२ गते ।
महोत्तरीको औरही नगरपालिकामा विद्यालय केन्द्रित नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी (HPV) खोप अभियान सुरु गर्ने तयारीस्वरूप पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालालाई लक्षित गरी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
नगरपालिकाका निमित्त नगर प्रमुख तथा नगर उपप्रमुख रेणु झाले स्थानीय तहस्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । गोष्ठीमा पाठेघरको मुखको क्यान्सर, उक्त रोग निवारणका राष्ट्रिय रणनीति तथा एचपीभी खोप सेवा सञ्चालनसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो ।
विज्ञहरूका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यसबाट हुने मृत्युदर घटाउन एचपीभी खोप प्रभावकारी माध्यम हो । एचपीभी भाइरसका कारण हुने संक्रमणबाट भविष्यमा क्यान्सर हुन नदिन किशोरी अवस्थामै खोप लगाउनु सुरक्षित र प्रभावकारी हुने जानकारी गोष्ठीमा दिइयो। साथै एचपीभी खोप पूर्ण रूपमा सुरक्षित, गुणस्तरीय तथा सरकारले निःशुल्क उपलब्ध गराएको खोप भएको स्पष्ट पारियो ।
नगरपालिकाका स्वास्थ्य संयोजक रबिन्द्र यादवले नगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरी तथा विद्यालय नजाने किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने बताउनुभयो। लक्षित समूहका किशोरीहरूलाई खोप केन्द्रसम्म ल्याउन अभिभावक, शिक्षक र समुदायको सक्रिय भूमिका आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
औरही नगरपालिकामा फागुन १ गतेदेखि ७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । तथ्यांकअनुसार विद्यालयमा अध्ययनरत ३३७ जना किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १३० जना गरी पालिकाभर ४६७ जना किशोरीलाई एचपीभी खोप लगाइने तयारी गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा खोप अभियानका उद्देश्य, लक्ष्य, अपेक्षित उपलब्धि तथा यसले किशोरीहरूको स्वास्थ्य, प्रजनन स्वास्थ्य र दीर्घकालीन जीवनस्तरमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराइएको थियो । साथै खोपसम्बन्धी जनचेतनामूलक सन्देश, खोपको फाइदा, सम्भावित सामान्य साइड इफेक्ट र खोपपछि अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्पष्ट पारिएको थियो ।
निमित्त नगर प्रमुख तथा नगर उपप्रमुख रेणु झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. २, ३, ४ र ९ का वडा अध्यक्ष, कार्यपालिका सदस्य सनिचरी देवी मण्डल, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

