सप्तरी, माघ २४ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट दलले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेकै कारण मुलुक असहज अवस्थामा पुगेको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले २०४६ सालको जनआन्दोलनपछिका अधिकांश सरकार कांग्रेस र कम्युनिस्टकै नेतृत्वमा बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको आरोप लगाए ।
उनले भने, “देशमा सुशासन, विकास र समृद्धि दिन नसक्दा आज युवा पुस्ता आन्दोलित भएको छ र मुलुक असहज अवस्थामा पुगेको छ ।” अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र उद्योगजस्ता संवेदनशील क्षेत्रलाई सुदृढ बनाउनुको साटो निजीकरण र पार्टीकरण गर्दा ती संरचनाहरू तहसनहस भएको बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका यादवले चुनावका बेला गरिएका प्रतिबद्धता पूरा नगर्ने नेताप्रति मतदाताले निरन्तर प्रश्न उठाउनुपर्नेमा जोड दिए । “मत माग्न आउँदा बाटो, अस्पताल, विद्यालय, कलेज र सिँचाइँको व्यवस्था गरिदिन्छु भन्ने नेताहरूले जितेपछि ती बाचा किन पूरा भएनन् भनेर जनताले सोधिरहनुपर्छ,” उनले भने, “जनताले प्रश्न गरे मात्रै नेता जिम्मेवार बन्छन् ।”

जसपा नेपालकै कारण देशमा परिवर्तन सम्भव भएको दाबी गर्दै अध्यक्ष यादवले आफ्नो तथा भावी पुस्ताको भविष्य सुरक्षित गर्न जसपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।
आफू सप्तरी–२ बाट निर्वाचित भएपछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालको भौतिक पूर्वाधार विस्तार, इन्जिनियरिङ र नर्सिङ कलेजका भवन निर्माण तथा पक्की सडक निर्माणजस्ता काम भएको र केही योजना सम्पन्न हुने चरणमा रहेको उनले बताए ।
कार्यक्रममा जसपा नेपालकी नेतृ एवं पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य चन्देश्वर सदा, समानुपातिक उम्मेदवार स्वस्तिका चौधरी, संगिता मण्डल, चुल्हाइ मण्डललगायत नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।
शनिबारै रुपनी गाउँपालिका–१ नकटी रायपुर, २ लौवापार, ३ कटैया, ४ लबका टोललगायतका स्थानमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादवसहितका नेताहरू सहभागी भएका छन् ।
यसै अवसरमा रुपनी बजारमा जसपा नेपालको सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ ।


