गाैशाला, माघ २४ गते ।
महोत्तरी जिल्लामा क्रियाशील रतौली युवा क्लबले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो ३६ औँ स्थापना दिवस मनाएको छ ।
मधेश प्रदेशका ग्रामीण समुदायमा शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण तथा सामाजिक–आर्थिक सशक्तिकरण र सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित गैरसरकारी संस्थाका रूपमा परिचित क्लबले स्थापना दिवसको अवसरमा जलेश्वरनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
साथै, जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूका लागि फलफूल वितरण कार्यक्रमसमेत गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मो. साकिर खान, कार्यकारी निर्देशक बैधनाथ चौधरी, कार्यसमिति सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक बैधनाथ चौधरीले स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै व्यक्ति, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा साझेदारप्रति आभार व्यक्त गरे ।
उनले आगामी दिनमा पनि सामाजिक परिवर्तन र विकासका अभियानमा निरन्तर सहकार्य र सहयोगको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरे ।
















