दैलेख, माघ २५ गते ।
दैलेख टेक्निकल स्कुल, नारायण नगरपालिका–१ मा स्वागत तथा विदाइ कार्यक्रम विशेष समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षालयका अध्यक्ष अरुण पाण्डेयले वर्तमान समयको आवश्यकता सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षा भएको बताएका छन् ।
पाण्डेयले विद्यार्थीहरूलाई सीपयुक्त तथा दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै प्राविधिक शिक्षाले रोजगारी र आत्मनिर्भरता सुनिश्चित गर्ने बताए । स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफू सधैं प्रतिबद्ध रहेको उनको भनाइ थियो। कार्यक्रममा शिक्षालयकी सञ्चालिका लता पाण्डेय विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् ।
कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्तबहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले प्राविधिक क्षेत्रमा रहेका सम्भावना र चुनौतीबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य चक्रबहादुर चन्दले विद्यालयको समग्र विकास र विद्यार्थीको हितका लागि व्यवस्थापन समिति सदैव सक्रिय रहने प्रतिबद्धता जनाए । कार्यक्रमका अध्यक्ष तथा तृतीय वर्षका प्रशिक्षार्थी अंग धामीले नेतृत्व विकासका अवसर उपलब्ध गराएकोमा शिक्षालयप्रति आभार व्यक्त गरे । कार्यक्रमको सञ्चालन द्वितीय वर्ष एच.ए. की प्रशिक्षार्थी अनामिका बिसीले गरेकी थिइन् ।
तृतीय वर्ष एच.ए. का प्रशिक्षार्थी अंग धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राविधिक शिक्षाको महत्व र विद्यार्थीको भूमिकाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ल्याब टेक्निसियन, एच.ए., भेटेरिनरी तथा सिभिल विषयमा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको दैलेख टेक्निकल स्कुल जिल्लाको एक महत्वपूर्ण प्राविधिक शिक्षालयका रूपमा परिचित छ । स्कुलले स्थानीय तथा राष्ट्रिय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

