सप्तरी, माघ २२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको उल्लेख गर्दै अब २२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी रहेको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले अनेकौं चुनौतीका बाबजुद आठ जिल्लाको मधेश प्रदेश स्थापना गर्न सफल भएको बताए । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले भने, “देशमै पहिचानको आधारमा बनेको प्रदेश मधेश मात्र हो। अब २२ जिल्लाको मधेश निर्माणका लागि जसपा नेपाल बलियो शक्तिका रूपमा उदाउन आवश्यक छ ।”

मधेश जनविद्रोह सिमान्तकृत, बहिष्कृत, शोषित, अपमानित तथा पछाडि पारिएका समुदायको अधिकार, पहिचान, शासनसत्ता र स्रोत–साधनमा समान अवसर र न्यायका लागि भएको उनले स्पष्ट पारे । राज्यका विभिन्न अंगमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु जनविद्रोहकै उपलब्धि भएको उल्लेख गर्दै उनले भने, “नेपालजस्तो महिलाको सहभागिता चीन, अमेरिका, जापान र बेलायतमा समेत छैन ।”
संघीयता विरोधी शक्तिहरू मधेशी, महिला, दलित, आदिवासी जनजाति, थारु लगायत पछाडि पारिएका समुदायले प्राप्त गरेको अधिकार र प्रतिनिधित्व खोस्न सक्रिय रहेको आरोप पनि उनले लगाए । प्रदेशलाई अधिकार नदिई काम गर्न नसक्ने बनाइएको र संघीयता खर्चिलो भएको जस्ता गलत भाष्य निर्माण भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न उनले जनसमुदायलाई आग्रह गरे ।
मधेशी जनताले कठोर संघर्षमार्फत देशमा ठूलो परिवर्तन ल्याएको स्मरण गराउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले शोषित उत्पीडित समुदायको अधिकार, पहिचान र सम्मान सुनिश्चित नगरेपछि मधेश विद्रोह अपरिहार्य भएको बताए । प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्न प्रतिनिधिसभामा मजबुत शक्ति पठाउन उनले आह्वान गरे ।

कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य अमरनाथ मण्डल र चन्देश्वर सदा, समानुपातिक उम्मेदवार सङ्गीता मण्डल र चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र यादव, कमलदेव यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डल, शान्ता मेहता, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेश कुमार यादव लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
आइतबारै राजगढ गाउँपालिकाका विभिन्न वडाका टोलहरूमा आयोजित कार्यक्रममा अध्यक्ष यादवसहितका नेताहरू सहभागी भएका छन् ।


