रासस
काठमाडौँ, माघ २५ गते ।
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेल खेलेको नेपाल इंग्ल्यान्डसँग झिनो अन्तरमा पराजित भएको छ। दुई पटकको विश्वकप उपाधि विजेता इंग्ल्यान्डसँग नेपाल चार रनले हार बेहोर्न बाध्य भएको हो ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा जितको लागि १८५ रनको चुनौती पाएको नेपालले २० ओभरमा छ विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो। अन्तिम क्षणसम्म प्रतिस्पर्धा गरे पनि लक्ष्य नजिक पुगेर नेपाल ऐतिहासिक जितबाट चुकेको छ ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए। उनले २९ बल खेल्दै छ चौका र एक छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९–३९ रनको योगदान दिए भने कुशल भुर्तेलले २९ रन जोडे। आरिफ शेखले १० रन बनाए। अन्य ब्याटरहरू उल्लेख्य योगदान दिन सकेनन्। आसिफ शेख सात रनमा आउट हुँदा गुल्सन झा एक रनमै पभेलियन फर्किए।
इंग्ल्यान्डतर्फ बलिङमा लियम डसन प्रभावशाली देखिँदै दुई विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूकले अर्धशतकीय इनिङ खेले। बेथेलले ३५ बलमा चार चौका र चार छक्काको मद्दतले ५५ रन बनाए भने ब्रूकले ३२ बलमा चार चौका र तीन छक्का सहित ५३ रन जोडे। विल ज्याक्सले अविजित ३९ रन बनाए भने जस बटलरले २६ रनको योगदान दिए ।
नेपालको बलिङ आक्रमणमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।
शनिबारदेखि सुरु भएको टी–२० विश्वकप प्रतियोगितामा नेपाल समूह ‘सी’ मा रहेको छ। सो समूहमा इंग्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्ने तालिका रहेको छ ।

