काठमाडौँ, माघ २६ गते ।
काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एनेस्थेसियासहितका उपकरण खरिद गर्न १ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
महानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सोमबार कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहबरमा यससम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार के.सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सार्वजनिक खरिद प्रक्रियामार्फत अस्पतालले १ थान एनेस्थेसिया मेसिन, २५० केभीए क्षमताको १ थान जेनेरेटर र ५ सय एम.ए. क्षमताको १ थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ। उपकरण जडानपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ भने अनुगमन प्रतिवेदनका आधारमा बिलबमोजिमको रकम भुक्तानी गरिनेछ। उक्त कार्य २०८३ जेठ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
काठमाडौँ महानगरबासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय, सहज र सरल स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको महानगरपालिकाले जनाएको छ।
सम्झौता कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले जलन उपचारसहित अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउन अनुदान प्रदान गरिएको बताइन्। “काठमाडौँ महानगरपालिका वडा नम्बर १४ सँग जोडिएको कीर्तिपुर अस्पतालबाट महानगरबासीले पनि सेवा लिइरहनुभएको छ। यो पालिका–पालिका तथा पालिका–अस्पताल सहकार्यको नमुना हो,” उनले भनिन् ।
त्यस अवसरमा शिक्षा–स्वास्थ्य समितिका संयोजक महर्जनले महानगरपालिकाले गर्नुपर्ने तर अहिलेसम्म पर्याप्त रूपमा हुन नसकेका सेवामा सहकार्य गर्दै आएको उल्लेख गरे। जलनजस्तो संवेदनशील उपचारका लागि सेवा भावले सहयोग गरिएको उनको भनाइ थियो ।
अस्पतालका अध्यक्ष डा. प्रधान श्रेष्ठले अस्पताल नाफामुखी नभई सेवा भावबाट सञ्चालन हुँदै आएको उल्लेख गर्दै जलन उपचार जटिल हुने भएकाले महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताए ।





