राजधानी टुडे संवाददाता
गाैशाला, माघ २६ गते ।
मधेस प्रदेश सभाका माननीय सभामुख श्री राम अशिष यादवले आज महोत्तरीको मटिहानीस्थित प्रसिद्ध एवं पौराणिक लक्ष्मीनारायण मन्दिरमा दर्शन तथा पूजा–अर्चना गर्नुभएको छ । सभामुख यादवले यसै क्रममा या.ल.ना. विद्यापीठ मटिहानी र राजकीय संस्कृत माध्यमिक विद्यालय, मटिहानीको स्थलगत अवलोकन भ्रमण गर्नुका साथै रुद्रीभिषेक कार्यक्रममा समेत सहभागी हुनुभयो ।
सभामुख यादव मटिहानी आइपुग्दा मटिहानी नगरपालिकाका नगरप्रमुख श्री हरि प्रसाद मण्डल, लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्त डा. रविन्द्र दास वैष्णव, या.ल.ना. विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण तथा राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले स्वागत एवं सम्मान गर्नुभएको थियो ।
यस अवसरमा मधेस प्रदेश सरकारका माननीय शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी पनि सभामुख यादवसँगै राजकीय संस्कृत माध्यमिक विद्यालय पुगेकी थिइन् ।











