https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजधानी टुडु संवाददाता
बिराटनगर, माघ २६ गते ।
सवारी दुर्घटना न्यूनीकरण तथा सिटी सफारी (ई–रिक्सा) लाई सुरक्षित, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले ‘सुरक्षित चालक’ अभियानअन्तर्गत सिटी सफारी चालकलाई पोशाक वितरण गरिएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१ मा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी चालकलाई ‘सुरक्षित चालक’ लेखिएको नम्बर सहितको ज्याकेट वितरण गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक हुने उल्लेख गर्नुभयो। चालकलाई जिम्मेवार बनाउने उद्देश्यले वितरण गरिएको पोशाकले सवारी दुर्घटना न्यूनीकरणमा थप भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बर्दीधारी प्रहरी नियममा बाँधिएजस्तै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकले पनि ट्राफिक नियमको पूर्ण पालना गर्दै यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । घिमिरेले ट्राफिक प्रहरी कर्मचारीलाई सवारी चालक, सहचालक तथा सडक प्रयोगकर्ताप्रति समान व्यवहार गर्दै प्रभावकारी रूपमा ट्राफिक व्यवस्थापन गरी सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक प्रहरीको छवि अझ मजबुत बनाउन निर्देशन दिनुभयो ।


कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सिटी सफारीलाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले ‘सुरक्षित चालक’ पोशाक वितरण गरिएको जानकारी दिनुभयो । छोटो दूरीका लागि उपयोगी सिटी सफारी ट्राफिक नियम उल्लङ्घन गरी असुरक्षित रूपमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले पोशाक प्रयोगले नियम पालनामा सुधार आउने र यात्रु सुरक्षामा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक सहर विराटनगरमा सिटी सफारीलाई व्यवस्थित रूपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सिटी सफारी दर्ता तथा अभिलेखीकरण गरी चालकलाई ट्राफिक नियम र सुरक्षित सवारी सञ्चालनसम्बन्धी नियमित अनुशिक्षण तालिमसमेत प्रदान गरिने जानकारी दिनुभयो ।


विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्रभित्र सिटी सफारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय तहले सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । सिटी सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले चालक पोशाकले सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप–प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी इन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकारी तथा कर्मचारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सिटी सफारी चालक संघका प्रतिनिधि तथा चालकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार