दिनेश महताे/इन्दल राउत
गाैशाला, माघ २६ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका–१२ मा विद्युत पोलमा काम गर्ने क्रममा गम्भीर घाइते भएका रञ्जित यादवको उपचारका क्रममा मृत्यु भएको छ । माघ २२ गते काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका यादवको उपचारकै क्रममा हिजो निधन भएको हो । मृतक यादवका परिवारजनले ठेकेदार राम एकवाल रायको गौशाला स्थित निवास अगाडि मृतकको शव राखी क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।
उनीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । परिवारजनका अनुसार रञ्जित यादव ठेकेदार राम एकवाल राय यादवको अधीनमा रहेर विद्युत पोलमा काम गर्दै आएका थिए । घटनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार तथा सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ ।
धर्नामा सहभागीहरूले नेपाल विद्युत प्राधिकरण गौशाला शाखा तथा सम्बन्धित पक्षसँग क्षतिपूर्तिको माग गरेका छन् । माग पूरा नभए भोलिदेखि कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यसै सम्बन्धमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले पिडितलाई उचित न्याय दिलाउन आफूहरू लागिपर्ने बताएका छन् । हाल घटनास्थलमा पीडित पक्ष क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन् भने स्थानीय बासिन्दाहरूले पनि पीडित परिवारको मागप्रति समर्थन जनाइरहेका छन् ।

