नेपालगञ्ज, माघ २७ गते ।
आम जनता पार्टी (आजपा) की नेतृ तथा बाँके–३ की उम्मेदवार विध्या शर्माले नेपालगञ्जस्थित भेरी अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न पहल गर्ने बताएकी छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका जयसपुर, कर्भौना, परसपुर र साइगाउँमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै शर्माले बाँके जिल्ला सुगम भए पनि यहाँका नागरिकले अझै गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको उल्लेख गरिन्। यस क्षेत्रका लागि एक मेडिकल कलेज अत्यावश्यक भएको उनको भनाइ थियो ।
नेपालगञ्ज लुम्बिनी प्रदेशसँगै कर्णाली प्रदेशको समेत केन्द्र भएको उल्लेख गर्दै शर्माले भेरी अस्पतालमा बाँकेसहित कर्णाली र आसपासका जिल्लाबाट बिरामी आउने गरेको बताइन्। तर सरकारी अस्पतालमा गरिब, निमुखा र आवाजविहीन नागरिकले अपेक्षित स्वास्थ्य सेवा नपाएको गुनासो बढ्दो रहेको उनले जनाइन् ।
‘भेरी अस्पताललाई मेडिकल कलेज बनाइएमा यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् भने विद्यार्थीहरूले एमबिबिएससम्मको अध्ययन गर्न पाउने अवसर सिर्जना हुनेछ,’ शर्माले भनिन् ।
उनले बाँके जिल्लामा स्वास्थ्यसँगै खानेपानी, ज्येष्ठ नागरिक सेवा, कृषि, सिँचाइ, मल तथा बीउको समस्या रहेको उल्लेख गर्दै विगतमा निर्वाचित नेताहरूले पर्याप्त काम नगर्दा नागरिकले समस्या भोग्नुपरेको बताइन् ।
बाँके–३ बाट निर्वाचित भए यी समस्याको ठोस समाधान गर्दै नागरिकलाई प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता शर्माले व्यक्त गरिन्। साथै जिल्लामा भ्रष्टाचार, आत्महत्या, सडक यातायात, बेरोजगारी र वातावरणीय समस्या प्रमुख रहेको जनाउँदै त्यसको समाधानका लागि आफू सक्रिय हुने बताइन् ।
सरकारी सेवामा देखिने अनियमितता र भ्रष्टाचार अन्त्य गर्दै सर्वसाधारणलाई सहज रूपमा सेवा उपलब्ध गराउने उनको भनाइ थियो। बेरोजगारी, अशिक्षा र वातावरणीय समस्याको दीर्घकालीन समाधान आजपाको मुख्य एजेन्डा रहेको पनि शर्माले बताइन् ।
शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवा प्रभावकारी बनाउँदै नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउने तथा बाँके जिल्लाको समग्र विकाससँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर संघर्ष गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

