राजेश सिंह
गौशाला, माघ २८ गते ।
महोत्तरीमा गौशाला इन्जिनियरिङ्ग क्याम्पसको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ। बुधबार आयोजित एक विशेष समारोहबीच क्याम्पसको नयाँ भवन औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
राजर्षि जनक विश्वविद्यालयका उप–कुलपति प्रा. डा. अमर प्रसाद यादव र गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको संयुक्त कर–कमलबाट भवन उद्घाटन गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै उप–कुलपति प्रा. डा. यादवले प्राविधिक शिक्षाको विकासले राष्ट्र निर्माणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो । नव–निर्मित भवनले इन्जिनियरिङ अध्ययनलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास व्यक्त गर्दै उहाँले विश्वविद्यालय र स्थानीय तहबीचको सहकार्यले शैक्षिक पूर्वाधार विस्तारमा सकारात्मक परिणाम दिएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतोको विशेष सहयोग र पहलप्रति कृतज्ञता व्यक्त गरिएको थियो । नगर प्रमुख महतोले शिक्षाक्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी, क्याम्पस प्रमुख ई. प्रेम चन्द्र रायले नव–निर्मित भवनले विद्यार्थीहरूलाई आधुनिक र व्यवस्थित अध्ययन वातावरण प्रदान गर्ने बताउनुभयो । प्राविधिक जनशक्ति उत्पादनमा क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा उहाँले राख्नुभयो ।
नवनिर्मित भवनमा कक्षाकोठा, प्रयोगशाला तथा प्रशासनिक कक्षहरू व्यवस्थित रूपमा निर्माण गरिएको छ। स्थानीय समुदायले यस उपलब्धिलाई गौशालाको शैक्षिक इतिहासमा महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
















