गाैशाला, माघ २९ गते ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा भ्रष्टाचारसम्बन्धी २ हजार ५२५ उजुरी दर्ता भएका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा धेरै उजुरी धनुषा जिल्लाबाट दर्ता भएका छन् ।
कार्यालयका उपसचिव प्रकाश पोखरेलले जानकारी दिँदै हालसम्म ८१२ उजुरी फर्छ्यौट भइसकेको र १ हजार ७१३ उजुरी अनुसन्धानकै क्रममा रहेको बताए । कुल उजुरीमध्ये झण्डै ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको जनाइएको छ ।
जिल्लागत रूपमा धनुषापछि महोत्तरी (५१४), सिरहा (४८१), सर्लाही (३९७) र सबैभन्दा कम सोलुखुम्बू (३९) उजुरी दर्ता भएका छन्।
कार्यालयका अनुसार दर्ता भएका उजुरीको प्रारम्भिक छानबिनपछि आवश्यक ठहरिएमा विस्तृत अनुसन्धान गरिन्छ । आधार नपुगेका उजुरी तामेली गरिने तथा आवश्यक देखिए सम्बन्धित निकायमा कारबाहीका लागि लेखी पठाइने वा अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अपनाइन्छ । समीक्षा अवधिमा ६०५ उजुरी तामेली, १० उजुरी सुझावसहित तामेली, ७९ उजुरी सम्बन्धित निकायमा पठाइएका तथा ११८ उजुरी एकीकृत गरिएको जनाइएको छ ।
बर्दिवास कार्यालयको कार्यक्षेत्रमा मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्ला पर्छन् ।
कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

