गाैशाला, फाल्गुन १ गते ।
सर्लाहीस्थित मलंगवा कारागारको सुरक्षा व्यवस्थापन अब नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझदेखि सेनाले औपचारिक रूपमा कारागारको सुरक्षा जिम्मेवारी ग्रहण गरेको हो ।
मलंगवा सुरक्षा बेसबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ सदस्यीय सैनिक टोली खटाइएको जनाइएको छ । यसअघि कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित थिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संवेदनशील कारागार तथा महत्वपूर्ण संरचनाको सुरक्षामा सेना परिचालन गर्ने नीति लागू गरिएको हो । सोही निर्णय कार्यान्वयनका क्रममा मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको सम्बन्धित स्रोतले जनाएको छ ।
कालीध्वज गणका गणपति उमेश खड्काका अनुसार सरकारको निर्देशनअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै कारागारको सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

