एजेन्सी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानले आसाम को डिब्रुगढस्थित मोरान बाइपास मा सफलतापूर्वक अवतरण गरेको छ। भारतीय वायुसेना को सी–१३०जे सुपर हरक्यूलिस विमान आपतकालीन अवतरणका लागि तयार गरिएको राजमार्ग खण्डमा सुरक्षित रूपमा उत्रिएको हो ।
पूर्वोत्तर क्षेत्रमा पहिलोपटक राजमार्गलाई हवाई धावनमार्गको विकल्पका रूपमा प्रयोग गरिएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले यसलाई महत्वपूर्ण उपलब्धि मानेका छन् ।
प्रधानमन्त्री मोदी फेब्रुअरी १४ मा चाबुवा हवाई अड्डा बाट उडेपछि सोही सडक खण्डमा अवतरण गरेका थिए। सम्बोधनका क्रममा उनले रनवे नभई राजमार्गमै विमान उत्रिएको उल्लेख गर्दै यसले क्षेत्रको विकास र क्षमता दुवै देखाएको बताए। पहिले कमजोर पूर्वाधारले चिनिने क्षेत्र अहिले रणनीतिक दृष्टिले महत्वपूर्ण बन्दै गएको उनको भनाइ थियो ।
झण्डै ४.५ किलोमिटर लामो यो सडक करिब १०० करोड भारतीय रुपैयाँ खर्चेर इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ELF) सहित निर्माण गरिएको हो । सामान्य अवस्थामा सवारीसाधन चल्ने यस राजमार्गलाई आवश्यक पर्दा विमानस्थलको धावनमार्गका रूपमा प्रयोग गर्न सकिन्छ। प्राकृतिक विपत्ति, आकस्मिक अवस्था वा युद्धकालीन परिस्थितिमा यसले वैकल्पिक विमानस्थलको काम गर्ने बताइएको छ। लडाकु तथा यातायात दुवै प्रकारका विमान यहाँ सञ्चालन गर्न सकिने जनाइएको छ ।
यो संरचना चीन सीमासँग नजिक भएकाले सुरक्षा दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । संवेदनशील क्षेत्रमा यस्तो पूर्वाधार विकास हुनु भारतको सामरिक तयारीको संकेतका रूपमा हेरिएको छ ।
यसैबीच नेपाल ले पनि विगतमा राष्ट्रिय राजमार्गलाई आपतकालीन धावनमार्गका रूपमा प्रयोग गर्ने योजना अघि सारेको थियो । तर आवश्यक पूर्वाधार, बजेट र कार्यान्वयनको स्पष्ट योजना अभावमा त्यो योजना अझै कार्यान्वयन हुन सकेको छैन ।

