राैतहट, फाल्गुन ४ गते ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर को टोलीले चन्द्रनिगाहपुर क्षेत्रबाट लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा चन्द्रपुर–४ मा खटिएको प्रहरीले ३२ वर्षीय तुलबहादुर लामालाई पहिलो पटक नियन्त्रणमा लिएको थियो। उनको शरीर जाँच गर्दा जिन्सको खल्तीबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने पाँच रुपैयाँको फोल्ड, ब्लेड लगायत सामग्री भेटिएको प्रहरीले जनाएको छ ।
लामासँग गरिएको सोधपुछपछि प्राप्त सूचनाका आधारमा प्रहरीले गणेशचोकस्थित एक डेराबाट थप तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर गाईघाटकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर–४ बस्ने ३५ वर्षीय राज बलम पाख्रिन मगर र २९ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । कार्यालय प्रमुख रुपा लाबुङले चारै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएकी छन् ।

