कञ्चनपुर, फाल्गुन ४ गते ।
आउँदै गरेको निर्वाचनलाई ध्यानमा राख्दै नेपाली सेना ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कारागारहरूको सुरक्षा जिम्मेवारी लिएको छ ।
सेनाका अनुसार प्रदेशका सात जिल्लामा रहेका कारागारमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। श्री नं. २५ वाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङका कारागारमा सेना तैनाथ गरिएको छ भने श्री नं. ५ वाहिनीअन्तर्गत डोटी, कैलाली र अछामका कारागारमा पनि सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको छ ।
बैतडी र बाजुरामा कारागार भवन निर्माणाधीन रहेकाले ती जिल्लामा सेना खटाउन नपरेको जनाइएको छ। संवेदनशील पूर्वाधारको सुरक्षालाई प्राथमिकता दिँदै सरकारले निर्णय गरेअनुसार सेना परिचालन गरिएको हो ।
नेपाल प्रहरी का प्रदेश कार्यालयका अनुसार कारागारसँगै विमानस्थल र धनगढीस्थित आयल निगम डिपोमा समेत सेना परिचालन गरिएको छ। गेटा, कोल्टी, डोटी र बझाङका विमानस्थलमा पनि सुरक्षार्थ सेना खटिएको छ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन केही सातायता सुदूरपश्चिमका विभिन्न क्षेत्रमा सेनाले नियमित गस्ती तथा सुरक्षा निगरानीसमेत बढाएको जनाइएको छ ।

