गाैशाला, फाल्गुन ५ गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिकाको आयोजनामा श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयको सभाहलमा मंगलबार बिहानदेखि ‘मेयर लोकसेवा तयारी कक्षा’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
सुरेश साह सोनारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव अतिथि रहेका थिए । साथै लोक सेवा आयोगका अधिकृतहरू केदारनाथ शर्मा, कृष्णराज गिरी, संगीता सिंह तथा प्रशिक्षक पृथ्वीनारायण शाह, सीमा राई, आर्या निरौला र कार्यक्रम संयोजक रञ्जित कुमार चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरूलाई अंगवस्त्रले सम्मान गर्दै दीप प्रज्वलन मार्फत कक्षा शुभारम्भ गरिएको थियो । युवाहरूलाई प्रतिस्पर्धात्मक परीक्षाका लागि सक्षम बनाउने तथा रोजगारीका अवसरतर्फ मार्गदर्शन गर्ने उद्देश्यले कक्षा सुरु गरिएको हो ।
६० जना क्षमताको व्यवस्थापन गरिएको कक्षामा ९८ जनाले नाम दर्ता गराएको शिक्षा शाखाले जनाए । “कुनै पनि इच्छुक विद्यार्थी अवसरबाट वञ्चित नहोस् भन्ने सोचका कारण सबैलाई सहभागी गराइएको” बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले आफ्नो अध्ययन–अनुभव साझा गर्दै परीक्षामा सफलता हासिल गर्न आवश्यक व्यावहारिक तरिकाबारे विद्यार्थीलाई प्रेरणा दिएका थिए । लोक सेवा आयोगका अधिकृत शर्माले अनुशासन, निरन्तर अभ्यास र मेहनतलाई सफलता प्राप्तिको आधार भएको उल्लेख गरे ।
अध्यक्षता गरिरहेका मेयर सोनारले विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बताए। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पनि सहज रूपमा अध्ययनको अवसर दिलाउने प्रतिबद्धता जनाउँदै उनले स्थानीय शैक्षिक संस्थालाई आधुनिक शिक्षण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उद्घाटनसँगै कक्षाको नियमित पठनपाठन सुरु भएको आयोजकले जनाएको छ ।




