पवन प्रसाद साह
बिरगंज, फागुन ५ गते ।
दुर्गा प्रसाईं पक्राउको विरोधमा वीरगंजस्थित घन्टाघर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका ६ जनालाई केही घण्टापछि रिहा गरेको छ ।
नियन्त्रणमा पर्नेहरूमा पूर्व जिल्ला विकास समिति सभापति शम्भु चौरसिया, अजय पौडेल, अशोक यादव, उदित सहनी, मेहन्दीहसन गद्दी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध नेता किरणमान डंगोल रहेका थिए ।
प्रसाईंलाई भक्तपुरस्थित निवासबाट ठूलो संख्यामा खटिएको सुरक्षाकर्मी टोलीले मध्यरातमा नियन्त्रणमा लिएको थियो । त्यसपछि विभिन्न जिल्लामा विरोधका कार्यक्रम बढ्न थालेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा भएको पक्राउले राजनीतिक वातावरण थप तातिने संकेत देखिएको स्थानीयको भनाइ छ ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूलाई सोही दिन साँझ रिहा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका नेताहरूले जिल्ला प्रहरी कार्यालय परिसरमै माला र अबिर लगाएर स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा जलेश्वर सरार्फ, राजेशकुमार गुप्ता, पवन साह, विद्यार्थी नेता दिपेश साह र नगिना यादव लगायत सहभागी थिए ।

