भाेेजपुर, फाल्गुन ६ गते ।
आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिकामा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा बेस क्याम्प स्थापना गर्न खटिएको नेपाली सेना सवार बस भोजपुरमा दुर्घटनामा परेको छ ।
भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा भएको दुर्घटनामा ना ४ ख ७३१७ नम्बरको बस सडकबाट झन्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बसमा नेपाली सेना का जवान सवार रहेका थिए ।
दुर्घटनामा परी २४ जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।
प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

