गौशाला, फाल्गुन ७ गते ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानी नगरपालिकामा आइपुगेको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग गाँसिएको यस यात्रामा सहभागी साधु–सन्त तथा गृहस्थ भक्तजनलाई नगरपालिका र स्थानीय व्यवसायीहरूले भव्य स्वागत गरेका छन् ।
नगरप्रमुख हरि प्रसाद मण्डलले माध्यमिकी परिक्रमा मिथिला सभ्यता, धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै परिक्रमावासीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ, विद्युत्, शौचालय तथा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको छ ।
“माध्यमिकी परिक्रमा केवल धार्मिक यात्रा मात्र होइन, मिथिलाको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो,” उनले भने, “साधु–सन्त र गृहस्थ एकै लस्करमा अघि बढ्ने यो यात्रा आपसी सद्भाव र एकताको सन्देश दिने माध्यम पनि हो ।” राम–सीताको विवाह परम्परासँग जोडिएको मटिहानी क्षेत्र परिक्रमाको महत्वपूर्ण ऐतिहासिक केन्द्रका रूपमा चिनिन्छ। प्रारम्भकालदेखि नै यहाँ परिक्रमा स्वागत गर्ने परम्परा रहँदै आएको स्थानीयवासी बताउँछन् ।
झाँकी, भजन–कीर्तन र बाजागाजासहित लामो पदयात्राका रूपमा अघि बढ्ने माध्यमिकी परिक्रमा करिब १५०–१७० वर्ष पुरानो इतिहास बोकेको विश्वकै लामो धार्मिक पदमार्गीय यात्रामध्ये एक हाे ।













