बिराटनगर, फाल्गुन ७ गते ।
नेपालीको हृदय साँच्चै फराकिलो हुन्छ भन्ने कुरा विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीको कामले प्रस्ट देखाउँछ । उनले वर्षौंदेखि सञ्चालन गर्दै आएको निःशुल्क मलामी बस सेवा आज मानवताको उत्कृष्ट नमुना बनेको छ । अहिलेसम्म उनले ७३३ घरपरिवारका सदस्यको निधन हुँदा मलामीहरूलाई घाटसम्म पुर्याउने–ल्याउने सेवा प्रदान गरिसकेका छन् ।
करिम अन्सारीसँग पहिले तीनवटा बस थिए, जुन उनी धरान–विराटनगर रुटमा नियमित चलाउने गर्थे । एक दिन कसैको फोन आयो—मलामी बोक्न गाडी आवश्यक परेको भन्दै । समस्यामा परेको परिवारलाई सहयोग हुने ठानेर उनले थोरै भाडामा गाडी उपलब्ध गराइदिने सहमति जनाए । तर पछि थाहा भयो, जसले फोन गरेको थियो ऊ त मृतकको परिवारसँग थप कमिसन जोडेर गाडी मिलाइदिने एजेन्ट रहेछ ।
यो घटनाले करिमलाई निकै झस्कायो। दुःखको घडीमा पनि कसैले कमिसनको खेल खेलिरहेको देख्दा उनको मन छोयो। त्यसपछि उनले आफ्नो तीनवटा बसमध्ये एउटा बस मलामी बोक्नका लागि पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने महान निर्णय गरे ।
धर्मभन्दा ठूलो मानवता ठानेर उनले विभिन्न धार्मिक मेला–महोत्सवका अवसरमा पनि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् । कुम्भ मेला का बेला पनि उनले निःशुल्क बस सेवा उपलब्ध गराएका थिए । अझ सुन्दर पक्ष के छ भने करिम अन्सारी मुस्लिम धर्मावलम्बी भए पनि उनको निःशुल्क बस सेवा प्रायः हिन्दू धर्म मान्ने परिवारहरूले प्रयोग गर्दै आएका छन् । मानवताको अगाडि धर्मभन्दा ठूलो केही हुँदैन भन्ने सन्देश उनले व्यवहारमै देखाइदिएका छन् ।

