काठमाडौं, फाल्गुन ९ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा ४१ राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र निर्वाचन आयोग मा पेश गरेका छन्। आयोगले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त तथ्य सार्वजनिक गरेको हो ।
आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार दलहरूलाई फागुन ४ भित्रै घोषणापत्र बुझाउन आग्रह गरिएको थियो। यद्यपि केही दलबाट कागजात बुझाउने प्रक्रिया अझै जारी रहेको उनले जानकारी दिइन्। उम्मेदवारका हकमा भने जिल्ला निर्वाचन कार्यालयमै विवरण पेश गर्न सकिने भएकाले सबै तथ्यांक संकलन हुन बाँकी रहेको बताइएको छ ।
निर्वाचन तयारीबारे आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका १६५ वटै निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भइसकेको जनाएको छ। समानुपातिकतर्फका मतपत्र सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा पठाइसकिएको छ ।
मतदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आयोगका स्वयंसेवकहरूले नमुना मतपत्र प्रयोग गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
निर्वाचन प्रचारप्रसार खर्च पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म सात राजनीतिक दल र ८ हजार ८६७ उम्मेदवारले यस्तो खाता खोलेको विवरण आयोगले प्राप्त गरेको जनाएको छ ।

