धनगढी, फाल्गुन ८ गते ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गोदावरीबाट अत्तरियातर्फ जाँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते धनगढी–२ का हरिष ओलीको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि उपचाररत अन्य दुई जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अत्तरिया का प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार गोदावरी–१ का २१ वर्षीय हरिश विक र सोही स्थानका अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनाको कारण, सवारीको गति तथा सम्भावित लापरबाहीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

