रहमुल
सिरहा, फाल्गुन १० गते ।
आगामी निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण फेरिन थालेको छ । सखुवानन्कारकटी गाउँपालिका–१ कटैयामा केही नेता–कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा सामूहिक प्रवेश गरेका छन् ।
जसपा नेपालका उम्मेदवार सत्यनारायण यादवको समर्थनमा आयोजित कार्यक्रममा प्रमोद कुमार साहको नेतृत्वमा प्रवेश कार्यक्रम सम्पन्न भएको हो । पार्टीमा आवद्ध हुनेहरूमा प्रमोद कुमार साह, अर्जुन साह, बिरेन साह, सुरेन्द्र साह, रामानन्द साह, श्याम साह र रामचन्द्र साह रहेका छन् । नवप्रवेशीहरूलाई स्थानीय तहका जसपा नेताहरूले स्वागत गरेका थिए ।
गाउँपालिका एकाइ अध्यक्ष नागेन्द्र यादवका अनुसार उम्मेदवार सत्यनारायण यादवको विकासमुखी दृष्टिकोण र पार्टीको स्पष्ट नीति–एजेन्डाबाट प्रभावित भएर उनीहरू जसपामा आवद्ध भएका हुन् । नवप्रवेशीहरूले आगामी निर्वाचनमा सक्रिय रूपमा चुनावी अभियानमा सहभागी भई सत्यनारायण यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिरहा–१ मा पछिल्ला दिनहरूमा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विश्लेषकहरूका अनुसार यस सामूहिक प्रवेशले स्थानीय राजनीतिक माहोललाई थप गतिशील बनाएको छ ।

