गाैशाला, फाल्गुन १७ गते ।
नेकपा एमाले महोत्तरी क्षेत्र नं. १ चुनाव प्रचार–प्रसार समितिको कार्यालयले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मी महतो कोइरी, निर्वाचन परिचालन समितिका संयोजक शारदा देवी थापा लगायतका नेतागणको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
सार्वजनिक प्रतिबद्धता पत्रमा क्षेत्रको समग्र विकास, कृषि आधुनिकीकरण, सिंचाइ व्यवस्थाको विस्तार, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, सडक तथा पूर्वाधार निर्माण, युवालाई रोजगारी सिर्जना, महिला सशक्तीकरण, सामाजिक सुरक्षा सुदृढीकरण र सुशासन कायम गर्ने विषय समेटिएको प्रचार–प्रसार समितिले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले महोत्तरी क्षेत्र नं. १ को दिगो विकास र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको दाबी गर्दै जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
उम्मेदवार कोइरीले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने दृढ संकल्प व्यक्त गर्दै यसपटकको निर्वाचन विकास र स्थायित्वको पक्षमा हुने विश्वास व्यक्त गरेका छन् ।






