राजेश सिंह
गाैशाला, फाल्गुन १८ गते ।
महोत्तरीको गौशाला बजारमा एक बालकमाथि कुटपिट गरिएको घटनाले उग्र रूप लिएको थियोे । साेमबार बेलुका गाैशाला बजार रहेको समीर गेष्ट हाउस एरियामा तनावग्रस्त बनेकाे थियोे । घटनापछि स्थानीयस्तरमा आक्रोश बढ्दै गएको छ भने न्यायको माग तीब्र बनेको छ ।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कार्वाही गर्न निर्देशन दिएका छन् । उहाँले राजधानी टुडेसँग कुरा गर्दै यस्ता घटनाले समाजमा नकारात्मक सन्देश जाने भन्दै सत्यतथ्य छिटो सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा ले घटना अनुसन्धान अगाडि बढाइएको जानकारी दिँदै संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।
स्थानीय तरकारी व्यापारी रामदयाल साह र समीर गेष्ट हाउसका संचालक साबिर हुसेनबीच बालकसम्बन्धी विवादले ठूलो झडपको रुप लिएको हो। दिउँसो करिब ५ बजे सुरु भएको विवादमा स्थानियहरुले गेष्ट हाउसमा तोडफोड गर्ने प्रयास गरेका थिए। घटना नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय जलेश्वर, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले संयुक्त रूपमा सुरक्षा व्यवस्था गरेका छन् ।







