गाैशाला, फाल्गुन १९ गते ।
महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु पुल क्षेत्रमा आज दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा एक युवक घाइते भएका छन् भने अर्को वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ ।
प्राप्त जानकारी अनुसार करिब दिउँसो २:३५ बजेतिर पुलमाथि दुईवटा शंकास्पद वस्तु देखिएको थियो। स्थानीय केही युवा नजिक पुगेको अवस्थामा तीमध्ये एउटा वस्तु अचानक विस्फोट भएको बताइएको छ। विस्फोटबाट एक जना युवकको छाती र हातखुट्टामा चोट लागेको छ। घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको स्रोतले जनाएको छ ।
घटनालगत्तै प्रहरी र सशस्त्र प्रहरी बलले क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणको आवतजावत बन्द गरेका छन्। हाल नेपाली सेनाको प्राविधिक टोलीले बाँकी रहेको अर्को शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइरहेको छ ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। जिल्ला प्रशासनले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा नछुने र तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ ।

