धनगढी, फाल्गुन २० गते ।
सुदूरपश्चिम प्रदेश का सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी सम्पन्न भएको जनाइएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन मिलाइएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढी का प्रमुख प्रेमराज भट्ट का अनुसार १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका २ हजार १९९ मतदान केन्द्रमा मतपत्र, मतपेटिका र कर्मचारी सोमबार नै पुर्याइसकिएको छ । सबै केन्द्रमा तयारी पूरा भई सर्वदलीय बैठकसमेत सम्पन्न भइसकेको उनले बताए ।
निर्वाचन आयोग ले मतदातालाई भयरहित वातावरणमा निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ ।
कडा सुरक्षा व्यवस्था
सुरक्षातर्फ व्यापक तयारी गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्ट ले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि ७ हजार ९८ जना नेपाल प्रहरी र १३ हजार ६४७ जना निर्वाचन प्रहरी सहयोगी खटाइएको छ। त्यसैगरी, वैद्यनाथ बाहिनी अत्तरियाबाट ५ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ। सुदूरपश्चिम पृतना ले पनि आवश्यक संख्यामा सैनिक परिचालन गरिसकेको जनाएको छ ।
मतदाता विवरण
प्रदेशका ९ जिल्लामा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। तीमध्ये ८ लाख ५२ हजार २१९ पुरुष, ८ लाख ६४ हजार ४२३ महिला र १८ अन्य मतदाता छन् । महिला मतदाता पुरुषभन्दा १२ हजार २०४ ले बढी रहेका छन् ।
प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन् । जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख ५१ हजार ५२ रहेका छन् भने त्यसपछि कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् ।
समग्रमा, प्रदेशभर शान्तिपूर्ण, निष्पक्ष र भय रहित मतदान सुनिश्चित गर्न प्रशासनले आवश्यक तयारी दुरुस्त बनाएको जनाएको छ ।

