काठमाडौँ, फाल्गुन २० गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन एक दिन बाँकी रहँदा निर्वाचन आयोग ले सार्वजनिक बिदाका दिनसमेत आवश्यक बैंकिङ तथा वित्तीय सेवा सञ्चालनको प्रबन्ध मिलाइएको जनाएको छ ।
फागुन २१ गते हुने आमनिर्वाचनलाई ध्यानमा राख्दै सरकारले फागुपूर्णिमासहित तीन दिन सार्वजनिक बिदा दिएको छ। यद्यपि बिदाका कारण वित्तीय कारोबार र निर्वाचनसम्बन्धी अत्यावश्यक काम प्रभावित नहोस भन्ने उद्देश्यले आयोगको निर्णय र अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको व्यवस्था गरिएको जनाइएको छ ।
त्यसैगरी, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट निर्वाचनसम्बन्धी भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन भइरहेका छन्। प्रणाली अवरुद्ध नहोस् भनेर प्राविधिक जनशक्ति खटाई सेवा प्रवाहलाई निरन्तरता दिइएको आयोगले स्पष्ट पारेको छ ।
सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारप्रसार खातासम्बन्धी सेवा निरन्तर रहोस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ले समेत आवश्यक समन्वय गरेको छ। रकम दाखिला, भुक्तानी तथा अन्य वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको जनाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतदान हुने दिन देशभरका मतदाताले एकैपटक मतदान गर्ने भएकाले सो दिन नियमित बैंकिङ सेवा बन्द रहनेछ । तर भोलिपल्ट फागुन २२ गतेदेखि सेवा पुनः यथावत् सञ्चालनमा आउनेछ ।

