झापा, फाल्गुन २३ गते ।
कोशी प्रदेशअन्तर्गत झापा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र (बालेन) शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। ओलीले उक्त निर्वाचन क्षेत्रमा १८ हजार ७३४ मत मात्रै प्राप्त गरेका छन् ।

यसरी बालेन शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पछि पार्दै झापा–५ मा ऐतिहासिक जीत हासिल गरेका हुन्। चार पटक प्रधानमन्त्री बनिसकेका तथा राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित ओलीलाई ठूलो मतान्तरले पराजित गरेपछि यो परिणामलाई विशेष महत्वका साथ हेरिएको छ ।
यस नतिजाले झापा–५ मा मतदाताले नयाँ नेतृत्वप्रति देखाएको विश्वास र परिवर्तनको चाहनालाई पनि संकेत गरेको विश्लेषण गरिएको छ। बालेन शाहको जीतपछि समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।



