एजेन्सी
टर्की, इरान र इजरायललगायत देशहरूबीच बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा चिन्ता बढ्न थालेको छ । पछिल्लो घटनाक्रममा टर्कीले पूर्वी भूमध्यसागर क्षेत्रमा आएको एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई अवरोध गरी नष्ट गरेको जनाएको छ ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र इरानतर्फबाट आएको आशंका गरिएको छ। मन्त्रालयले क्षेत्रीय सुरक्षा र नागरिकको सुरक्षालाई खतरा हुने कुनै पनि कदम नचाल्न इरानलाई चेतावनी दिएको छ। टर्कीले आफ्नो सुरक्षा र हितका लागि आवश्यक परे सबै कदम चाल्ने स्पष्ट पारेको छ ।
यसअघि टर्कीले उत्तरी साइप्रस क्षेत्रमा युद्धपोतसहित ठूलो सैन्य उपस्थिती बढाएको थियो। त्यहाँ लडाकु विमान र वायु रक्षा प्रणाली समेत तैनाथ गरिएको बताइएको छ ।
इरानले साइप्रस क्षेत्रमा ड्रोन प्रयोग गरी आक्रमण गरेको दाबी गरिएपछि टर्कीले थप सतर्कता अपनाएको बताइएको छ। टर्की र साइप्रस भौगोलिक रूपमा नजिक रहेका कारण पूर्वी भूमध्यसागर क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेको विश्लेषण गरिएको छ ।
हालको घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव बढेको देखिए पनि पूर्ण स्तरको विश्वयुद्धको अवस्था भने सिर्जना भइसकेको छैन। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ ।

