गाैशाला, फाल्गुन २५ गते ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली राजनीतिमा ज्वाइँ–ससुराबीचको रोचक संयोग देखिएको छ । एक जोडीमा ज्वाइँ प्रत्यक्षतर्फ चुनाव जितेर सांसद बनेका छन् भने ससुरा पराजित भएका छन् । अर्को जोडीमा भने ज्वाइँ चुनावमा हार्दा ससुरा समानुपातिकतर्फबाट सांसद बन्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीका ज्वाइँ हुन् । बहुदल आएयता सबैभन्दा धेरै पटक मन्त्री बन्ने रेकर्ड बनाएका भण्डारी यसपटक भने महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवारसँग पराजित भएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर–४ बाट पराजित भएका छन् । तर उनका ससुरा अर्जुन नरसिंह केसी भने सांसद बन्ने भएका छन् । केसी नेपाली कांग्रेसको समानुपातिक सूचीमा खस–आर्य पुरुषतर्फ पहिलो नम्बरमा रहेका कारण प्राप्त मतको आधारमा उनी प्रतिनिधिसभा सदस्य बन्ने लगभग निश्चित भएको हो ।
यसरी एउटै निर्वाचनले ज्वाइँ र ससुराबीच फरक–फरक राजनीतिक परिणाम ल्याएको रोचक संयोग देखिएको छ ।

