संखुवासभा, फाल्गुन २५ गते ।
संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना तेस्रो दिन पनि जारी छ । पछिल्लो विवरणअनुसार नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् ।
मतगणनाको अहिलेसम्मको परिणामअनुसार कार्कीले १५,२५२ मत पाएका छन् भने उनका मुख्य प्रतिद्वन्द्वी रास्वपा का मिङ्मा शेर्पाले १४,२६५ मत प्राप्त गरेका छन्। यसरी उनीहरूबीच मतान्तर ९५४ मत रहेको छ ।
खाँदबारी नगरपालिका ८ र ४ का २,७८६ मत अझै गणना हुन बाँकी छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठ छन्, जसले १२,६१४ मत पाएका छन्। चौथो स्थानमा श्रम संस्कृति पार्टीकी उमाकुमारी राई (९,६३० मत) र त्यसपछि नेकपाकी सरिता थापा (२,७८३ मत) रहेका छन् ।
सङ्खुवासभामा कुल ६३,६३४ मत खसेको थियो। यस जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ र कुल मतदाता संख्या १,१९,६३० रहेको छ। यस निर्वाचनमा १६ उम्मेदवार सहभागी थिए, जसमा एक स्वतन्त्र उम्मेदवार पनि थिए ।

