गाैशाला, फाल्गुन २५ गते ।
धनुषा–१ मा उम्मेदवारी विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।
सोमबार साँझ धनुषास्थित निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार यादवलाई औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो। रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी सम्बन्धी मुद्दा अदालतमा चलिरहेकै बेला उक्त प्रमाणपत्र दिइएको हो ।
निर्वाचन आयोगले यसअघि कमलको उम्मेदवारी खारेज गरे पनि उनको चुनाव चिन्हमा परेको मतको अभिलेख राख्न निर्देशन दिएको थियो। तर त्यसको भोलिपल्ट अर्को पत्र जारी गर्दै अन्तिम निर्णय नआउञ्जेल मत परिणाम सार्वजनिक नगर्न र निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिन पनि भनिएको थियो ।
यद्यपि नेकपाका कार्यकर्ता तथा समर्थकहरूको दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र उपलब्ध गराएको जनाइएको छ ।
मतपरिणाम अनुसार यादवले १० हजार ४२८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ मत पाए भने नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका थिए ।
रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरिए पनि उनको चुनाव चिन्हमा भने यादवले पाएकोभन्दा झन्डै दोब्बर मत परेको बताइएको छ ।
यस विषयमा नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारी खारेज भइसकेपछि विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन ढिलाइ गर्नु उपयुक्त नभएको बताएका थिए ।
हाल कमलको उम्मेदवारीसँग सम्बन्धित कालोसूची सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यसको अन्तिम निर्णय आउन बाँकी रहेको छ ।

