गाैशाला, फाल्गुन २६ गते ।
सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थायी घर भई हाल राजविराज–३ शिवमन्दिर टोलमा बस्दै आएका मोहन दासका करिब २५ वर्षीय छोरा गजेन्द्र दास रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान पोखरीमा माछा मार्ने क्रममा उनी अचानक डुबेका थिए । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको थियो ।

लामो समयसम्म गरिएको खोजीपछि गोताखोर टोलीले पोखरीबाट दासको शव फेला पारेको सुरक्षा स्रोतले जनाएको छ । घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



