गाैशाला, फाल्गुन २७ गते ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक पूर्व–पश्चिम राजमार्गमा पाँच वटा सवारीसाधन आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
बुधबार राति करिब १२:१३ बजे सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बरको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित कन्टेनरले काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो। त्यसपछि बुटवलबाट कावासोतीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकल र काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार महेन्द्र महतारा घाइते भएका छन् ।
त्यसैगरी लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा सवार ६ जना यात्रु पनि घाइते भएका छन्। घाइते हुनेमा बस चालक रोल्पा स्मृति गाउँपालिका–४ का शंकर बिष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोद कुमार अछामी, रोल्पा नगरपालिका–४ का उदीराम बिष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्र सिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का यज्ञप्रसाद भुषाल रहेका छन् ।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेका छन्। अन्य दुई बसका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

