धनुषा, फाल्गुन २७ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र सडक डिभिजन कार्यालयको सहकार्य तथा सहयोगमा जनकपुरधामस्थित रामानन्द चोकलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनसम्बन्धी कार्य सुरु गरिएको छ ।
आजदेखि सुरु गरिएको यस अभियान अन्तर्गत चोक क्षेत्रको ट्राफिक व्यवस्थापन सुधार गर्न विभिन्न संरचनात्मक कामहरू अघि बढाइने जनाइएको छ । योजना अनुसार सडक डिभाइडर निर्माण, बस तथा माइक्रोका लागि पिक एन्ड ड्रप पकेट, ई–रिक्सा स्ट्यान्ड तथा जेब्रा क्रसिङ निर्माण गरिनेछ ।

त्यसैगरी चोकलाई नमूना तथा आकर्षक बनाउने उद्देश्यले रामानन्द द्वारको सौन्दर्यकरण गर्ने तयारी गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै चोक क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना पनि रहेको बताइएको छ ।
यस अभियानलाई सफल बनाउन वडा नम्बर ८ र ९ का वडाध्यक्षहरूको सहयोग र सहकार्य रहने जनाइएको छ । साथै सरसफाइलाई निरन्तर कायम राख्न चोक क्षेत्रमा २४सै घण्टा खटिने गरी दुई जना स्विपरसमेत व्यवस्था गरिने योजना रहेको छ ।

