काठमाडौं, फाल्गुन २७ गते ।
इरान, इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावका कारण मध्यपूर्व क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षाबारे चिन्ता बढेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म उक्त क्षेत्रमा भएका आक्रमणका घटनामा एक नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणका क्रममा उनीहरू घाइते भएका हुन्। उपचारपछि घाइते सबै नेपाली पुनः आफ्नो कम्पनीमा फर्किसकेको मन्त्रालयले जनाएको छ ।
केही दिनअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आक्रमणमा गोरखा घर भएका एक नेपालीको ज्यान गएको थियो। सोही घटनामा युएईमै कार्यरत १४ नेपाली घाइते भएका थिए ।
अमेरिका र इजरायलले फागुन १६ गते इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् बढेको हो। त्यसपछि इरानले इजरायलसँगै मध्यपूर्व र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ। विशेषगरी साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र जोर्डन लगायतका देशमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाइएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्व तथा खाडी क्षेत्रमा हाल १७ लाख २९ हजार २८८ नेपाली कार्यरत वा बसोबास गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै करिब सात लाख नेपाली युएईमा रहेका छन् ।
साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा करिब १ लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार र इराकमा ३० हजार नेपाली छन् । त्यस्तै इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, लेबनानमा १ हजार ५०० र इरानमा ६ नेपाली मात्र रहेको मन्त्रालयले जनाएको छ।
सरकारको चासो, ५७ हजारले टिपाए विवरण
बढ्दो तनावका कारण नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले विशेष चासो देखाएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेसपोन्स टिम गठन गरी पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न पहल गर्ने निर्णय गरिएको छ ।
कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन प्रणालीमा हालसम्म ५७ हजार १०० नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। प्राप्त विवरणको आधारमा आवश्यक परेमा उद्धार तथा अन्य सहयोगका लागि तयारी गरिने मन्त्रालयले जनाएको छ ।
खाडी मुलुकका उडान प्रभावित
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू पनि प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही उडानहरू ढिलाइ, तालिका परिवर्तन वा रद्द भएका छन्।
जजिरा एयरवेज, कुवेत एयरवेज र एयर अरेबियाका उडानहरू रद्द भएका छन् भने फ्लाई दुबईले केही दिनका लागि उडान स्थगित गरेको छ। साथै कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका केही उडानहरू पनि प्रभावित भएका छन् ।
उडान प्रभावित भएपछि वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि यात्रा गर्ने यात्रुहरू अन्योलमा परेका छन्। यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ । हिमालय टाइम्स दैनिक

