गाैशाला, फाल्गुन २९ गते ।
महोत्तरीकाे बर्दिवास नगरपालिका–३ गौरीडाँडामा सञ्चालन हुँदै आएको जनता साहित्यिक मञ्चको २३ औँ नियमित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
फागुन २९ गते शुक्रबार आयोजित उक्त कार्यक्रम मञ्चकी अध्यक्ष प्राची सुवेदीको अध्यक्षता तथा श्री जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक नेत्रबहादुर रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम मञ्चको माथिल्लो सदनको आयोजनामा सम्पन्न गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मञ्चकी सचिव रेवती कार्की (दिलिसा) ले गरेकी थिइन्। कार्यक्रममा सहभागी स्रष्टाहरूले कविता, गीत तथा गजलका विविध सिर्जना प्रस्तुत गरेका थिए ।
साहित्यिक रचना प्रस्तुत गर्नेहरूमा रामनाथ महतो, शोभा घिमिरे, कञ्चन बुर्जा, रितिशा अर्याल, विद्या साह, दिलिसा कार्की, सौरभ शर्मा, रामचन्द्र पौडेल तथा नेत्रबहादुर रम्तेल रहेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई सृजनात्मक बनाएको थियो ।
कार्यक्रममा बोल्दै अतिथि सौरभ शर्माले साहित्यले समाजलाई सही दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले साहित्यले मानिसमा चेतना र संवेदनशीलता विकास गर्ने भएकाले युवापुस्ताले पनि यसतर्फ रुचि देखाउनुपर्ने धारणा राखे ।
अर्का अतिथि रामचन्द्र पौडेलले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि बढाउने उद्देश्यले सञ्चालन गरिएको मञ्चले २३ औँ शृङ्खला पूरा गर्नु सुखद उपलब्धि भएको बताए। निरन्तरता कायम राख्दै कार्यक्रम अघि बढाउनु सराहनीय कार्य भएको उनले उल्लेख गरे ।
प्रमुख अतिथि नेत्रबहादुर रम्तेलले विद्यार्थीहरूको सक्रियतामा सञ्चालन भइरहेको यस साहित्यिक अभियानले आगामी दिनमा अझ व्यापकता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्राची सुवेदीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको जानकारी दिइन् ।

