राैतहट, चैत २ गते ।
रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवका पिता रामेश्वर राय यादवको आइतबार राति करिब ११ बजे निधन भएको छ । उनी ७४ वर्षका थिए ।
परिवारजनका अनुसार वि.सं. २००८ सालमा जन्मिएका यादव समाजमा धार्मिक आस्था, सरल जीवनशैली र परोपकारी स्वभावका कारण चिनिन्थे । स्थानीयस्तरमा विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका उनले गरिब तथा असहाय व्यक्तिहरूको सहयोगमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
उनी केही समययता आध्यात्मिक जीवनतर्फ झुकाव राख्दै नियमित रूपमा पूजा–पाठ र भक्ति साधनामा समय बिताउँदै आएका थिए। आफ्नै घरमा भगवानको प्रतिमा स्थापना गरी आराधनामा समर्पित जीवन बिताइरहेका यादवको आइतबार राति निधन भएको परिवारले जनाएको छ ।
नगर प्रमुख श्याम प्रसाद यादवले सामाजिक सञ्जालमार्फत बुवाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई अपूरणीय क्षति पुगेको बताएका छन्। उनले बुवाले जीवनभर सत्य, इमानदारी र मानव सेवाको मार्ग देखाएको स्मरण गरेका छन् ।
“बुवाले सिकाउनुभएको मूल्य र संस्कारलाई जीवनभर आत्मसात् गर्दै उहाँका आदर्शलाई अगाडि बढाउने प्रयास गर्नेछु,” उनले उल्लेख गरेका छन् । स्वर्गीय यादवको निधनप्रति स्थानीय राजनीतिक, सामाजिक तथा सर्वसाधारण तहबाट दुःख व्यक्त गरिएको छ भने धेरैले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

