गाैशाला, फाल्गुन ४ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उज्जवल कुमार झा ले अहिले आफ्नै शैलीका कारण छुट्टै पहिचान स्थापित गरेका छन् ।
सुरुवाती चरणमा उनले पाल्नुभएको करिब डेढ फिट लामो टुप्पी (टिकी)लाई लिएर विभिन्न टिप्पणी भए पनि समयसँगै त्यही टुप्पी उनको चिनारीको मुख्य आधार बन्न पुगेको छ ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका झाको टुप्पीले सबैको ध्यान तानेको थियो । कार्यक्रममा उपस्थित संचारकर्मीहरूको क्यामेरा समेत उनी गाडीबाट ओर्लिएलगत्तै उनको टुप्पीतर्फ केन्द्रित भएको देखिएको थियो ।

अहिले उनका तस्बिरहरू विभिन्न अनलाइन सञ्चारमाध्यममा आकर्षक रूपमा प्रकाशित भइरहेका छन्। अवस्था यस्तो छ कि धेरैले उनको नामभन्दा पनि ‘टुप्पी सांसद’ भनेर चिन्न थालेका छन् । झाले शौखकै रूपमा टुप्पी पालेका भए पनि निर्वाचन प्रचारका क्रममा घरदैलो गर्दा यो नै मतदाताको ध्यान तान्ने प्रमुख माध्यम बनेको थियो। मतदाताले उनको यो फरक शैलीलाई नौलो र रोचक रूपमा लिएका थिए ।
पञ्चायतकालमा महोत्तरीमा कुलानन्द झा लाई हातमा बोक्ने लठ्ठी (वेतको लौरो) ले चिनाउने गरिन्थ्यो भने अहिले सोही परम्परालाई फरक ढंगले अघि बढाउँदै उनका नाति उज्जवल कुमार झाको पहिचान टुप्पीले बनेको देखिन्छ ।
निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मतान्तरले विजयी भएका झा अहिले काठमाडौँमा समेत आफ्नो फरक पहिचानका कारण चर्चा कमाउन सफल भएका छन् ।





