गाैशाला, चैत ५ गते ।
प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिका स्थित निगौल गाईगौशालाको निरीक्षण गर्नु भएको छ । अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि उहाँको महोत्तरीको यो पहिलो भ्रमण हो ।
गौशाला नगरपालिका–३ नवराजपुरमा रहेको उक्त गाईगौशालामा रहेका गाईवस्तुको अवस्था लामो समयदेखि चर्चा र चिन्ताको विषय बन्दै आएको थियो। त्यसै सन्दर्भमा प्रधानमन्त्री कार्की स्वयं त्यहाँ पुगेर वास्तविक अवस्था बुझ्नु भएको हो ।
निरीक्षणपछि बोल्दै उहाँले असहाय तथा संरक्षण आवश्यक पर्ने जीवजन्तुको रक्षा गर्नु सबैको दायित्व भएको बताउनु भयो । गाईलाई केवल धार्मिक दृष्टिले मात्र नभई आर्थिक रूपमा पनि महत्वपूर्ण मान्नुपर्ने उहाँको भनाइ थियो । गाई संरक्षणलाई रोजगारी सिर्जना गर्ने माध्यमका रूपमा विकास गर्न सकिने उहाँले उल्लेख गर्नु भयो ।
प्रधानमन्त्री कार्कीले हिन्दु संस्कृतिमा गाईलाई आमासरह सम्मान गर्ने परम्परा रहेको स्मरण गराउँदै गाईमाथि हुने लापरबाही रोक्न सम्बन्धित निकायलाई सचेत रहन आग्रह गर्नु भयो । गाईगौशालालाई व्यवस्थित बनाएर उद्योगको रूपमा विकास गर्नुपर्ने उहाँको सुझाव थियो ।
यस क्रममा उहाँले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद प्रमोद महतोलाई स्थानीय स्तरमा देखिएका समस्याहरू समाधान गर्न विशेष ध्यान दिन निर्देशन समेत दिनु भयो ।

