बिरगञ्ज, चैत ६ गते ।
बिरगञ्जको मुख्य बजार क्षेत्र गीता मन्दिर रोड आसपास आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा सरसफाइ तथा मापदण्ड उल्लङ्घन गर्ने ४ वटा व्यवसायमाथि कारबाही गरिएको छ। अनुगमन टोलीले ती व्यवसायलाई गरी कुल २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा भएको अनुगमनमा होटल तथा रेष्टुरेन्टहरूमा विशेष ध्यान दिइएको थियो। निरीक्षणका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसः र सोखिन म:म सेन्टरमा सरसफाइ, मूल्यसूची, खाद्य सामग्री भण्डारण तथा सञ्चालन मापदण्डको अवस्थाबारे जाँच गरिएको थियो ।

टोलीले भान्साको सरसफाइ, प्रयोग हुने पानीको अवस्था, खाद्य सामग्री राख्ने तरिका तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइसमेत जाँच गरेको जनाएको छ। निरीक्षणका क्रममा केही व्यवसायमा आवश्यक मापदण्ड पूरा नगरेको, मूल्यसूची नराखिएको र कागजात अद्यावधिक नभएको भेटिएपछि तत्काल सुधार गर्न निर्देशन दिँदै जरिवाना गरिएको हो ।

अनुगमन टोलीका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यस्ता लापरबाहीलाई गम्भीर रूपमा लिइएको हो। आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने र मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, वीरगञ्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

