राैतहट, चैत १० गते ।
रौतहटकाे बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा चैत ७ गते बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरिएको थियो। खोजी कार्य इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको नेतृत्वमा सञ्चालन गरिएको थियो ।
प्रहरीका अनुसार बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजी कार्य बिहीबार र शुक्रबार पनि निरन्तर जारी राखिएको थियो। मंगलबार बिहान करिब साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।
संयुक्त टोलीले डुंगाको प्रयोग गरी शव नदीबाट बाहिर निकालेको र पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

